May 5, 2024

Introduction

‘आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नतीका लागि सहकारीताको भावनालाई जगाऔं’भन्ने मुल नाराका साथ मध्यपुर थिमिका विभिन्न क्षेत्रमा आबद्ध २८ जना महानुभावहरुले २०५७ असोज २ गते सोमबार यस संस्थाको स्थापना भएको हो ।

      जिल्ला सहकारी कार्यालय भक्तपुरमा दर्ता नं ३३/०५७/५८ मा दर्ता भई ७ लाख रूपैयाँ पुँजीबाट सुरु भएको संस्थाले स्थानीय तहमा छरिएर निस्क्रिय रुपमा रहेको सानो-सानो पुँजीलाई एकीकृत गरी सहकारीताको भावनाले अभिप्रेरित भएर विभिन्न क्षेत्रमा लगानी गर्दै सदस्यहरुको आर्थिक उन्नतिमा टेवा पुर्‍याउँदै आइरहेको छ । सदस्य तथा स्थानीयवासीहरुलाई वित्तीय रुपमा साक्षर बनाउन संस्थाले वित्तीय साक्षरता तालिमहरु सञ्चालन गर्दै आइरहेको छ ।

      आफ्नै भवनबाट सञ्चालित यस संस्थाले स्थापनाकालदेखि नै सदस्यहरुलाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न आयमूलक र सीपमूलक तालिमहरु जस्तै- दालमोठ, मैनबत्ती, आलुटिप्स, अचार, मिठाई, कपडाको जुत्ता र कपडाको फुललगायतको तालिम सञ्चालन गर्दै आइरहेको छ । यसका साथै समाजमा देखिएको विभिन्न समस्याहरुलाई समाधान गर्ने उद्देश्यले स्वच्छ वातावरणको लागि वृक्षरोपण गरी वातावरण संरक्षण तथा प्रबद्र्धनमा काम गरी आएको छ ।

स्थानीय सम्पदा र संस्कृतिलाई जीवन्त बनाइराख्न समुदायिक वन अन्तरत चिफ्ःमा पाटीपौवा निर्माण गरी स्थानीय बालकुमारी, विष्णुविर उपभोक्तालाई हस्तान्तरण गर्नुका साथै विभिन्न मठमन्दिर, पाटीपौवा निर्माणमा संस्थाले आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको छ । स्थानीय नित्य भजनमण्डल र अन्य भजन मण्डललाई विभिन्न वाद्य सामग्रीहरु वितरण गरी लोपोन्मुख भजनमण्डललाई निरन्तर सञ्चालनका लागि सहयोग गर्दै आइरहेको छ । लोप हुन लागेको स्थानीय लाय्कू भैल (भैरव नाच) लाई निरन्तरता दिनका लागि संस्थाले अक्षयकोष सञ्चालनको लागि आर्थिक सहयोग गरेको छ । 

      अरनिको राजमार्गको ६ लाइन सडक विस्तारबाट अत्यधिक सडक दुर्घटना हुन थालेपछि न्यूनीकरणका लागि संस्थाले स्थानीय विभिन्न चोकमा ट्राफिक जनचेतनामूलक सन्देश बोर्डहरुबाट सचेत गर्नुका साथै ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।

      सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा स्थापना दिवसको उपलक्ष्यमा वार्षिक रुपमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । नेपाल रेडक्रस सोसाइटीको समन्वयमा प्राथमिक उपचारलगायत विभिन्न तालिमहरु सञ्चालन गर्दै आइरहेको छ । साथै नेपाल रेडक्रस सोसाइटी, मध्यपुर थिमि उपशाखाले सञ्चालन गरेको शववाहन संचालनको लागि अक्षयकोष स्थापना गर्न संस्थाले आर्थिक सहयोग गरेका थिए ।

      स्थानीय विद्यालयका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि संस्थाले जिल्ला व्यापी विद्यालय स्तरीय नृत्य, चित्रकला, वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता गर्दै आइरहेको छ । साथै शारीरिक सुस्वास्थ्य र खेलकुदको विकासका लागि संस्थाले फुटसल प्रतियोगिता आयोजना गरेको थियो । विभिन्न संघसंस्थाले आयोजना गरेको प्रतियोगिताहरुमा संस्था सक्रिय सहभागिता जनाउँदै उत्कृष्ट स्थान हासिल गर्दै आइरहेको छ । संस्थाको स्थापना दिवसको अवसरमा ‘स्वस्थ हुनका लागि हिँडौं’भन्ने मूल नाराका साथ वाकथनको आयोजना गरेको थियो ।

      नेपाल सरकार डिभिजन सहकारी कार्यालय भक्तपुरले आर्थिक वर्ष २०६७/६८ मा यस संस्थालाई जिल्लाभरिको उत्कृष्ट सहकारी घोषणा गरी पुरस्कृत गरिएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले यस संस्थालाई सहकारीको विकास, प्रबद्र्धन र सामाजिक रुपान्तरणमा पुरयाएको योगदानको उच्च मूल्यांकन गर्दै आर्थिक वर्ष २०७२/७३ को उत्कृष्ट क्षेत्रीय उपत्यकाभित्र मध्येबाट सम्मान गरिएको छ । संस्थालाई विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेवापत कदरपत्र र प्रशंसापत्र प्रदान गर्दै आइरहेको छ ।

      संस्थाले विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय सभा-सम्मेलन, गोष्ठी, तालिममा सक्रिय सहभागिता जनाउँदै आइरहेको छ । आन्तरिक पर्यटन प्रबद्र्धनका लागि संस्थाले अधिराज्यभरिका विभिन्न सहकारी संस्थाहरुको अवलोकन भ्रमण गर्दै आइरहेको छ भने संस्थामा पनि विभिन्न सहकारीहरुले भ्रमण गरेका छन् । साथै अन्तर्राष्ट्रिय राष्ट्र बंगलादेश, भारत र भुटानका सहकारीकर्मीले यस संस्थाको अवलोकन भ्रमण गरेको छ ।

Copyright © 2024 Balkumari SACCOS (BASIC) | Developed & Maintained by SoAni Tech Nepal Pvt. Ltd.