Jun 5, 2026

message from ceo

ब्यवस्थापकको सन्देश

आदरणीय शेयर सदस्यज्यूहरू तथा शुभचिन्तक महानुभावहरू,

बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडप्रति तपाईंहरूले देखाउनुभएको अटल विश्वास, निरन्तर साथ र अमूल्य सहयोगका लागि म हार्दिक कृतज्ञता व्यक्त गर्दछु। साथै, हाम्रो वेबसाइटमार्फत संस्थाका गतिविधि, सेवा तथा योजनाहरू सम्बन्धी जानकारी लिनु भएकोमा विशेष धन्यवाद ज्ञापन गर्दछु।

हाम्रो संस्था सफलतापूर्वक २६औँ वर्षमा प्रवेश गरेको यस ऐतिहासिक अवसरमा, हामी आधुनिक प्रविधिसँग समायोजन गर्दै अझ प्रभावकारी, पारदर्शी तथा सदस्य–केन्द्रित सेवा प्रदान गर्ने दिशामा दृढतापूर्वक अघि बढिरहेका छौं। संस्थाको दिगो विकास, नाफामा वृद्धि तथा सदस्यहरूको सन्तुष्टि अभिवृद्धि हाम्रो प्रमुख लक्ष्य हो, र यी लक्ष्यहरू प्राप्त गर्न हामी अझ जिम्मेवार, प्रतिबद्ध र सक्रिय रहनेछौं।

हामीलाई गर्व छ कि संस्थाले २०६७ सालमा तत्कालीन डिभिजन सहकारी कार्यालय, भक्तपुरबाट “उत्कृष्ट सहकारी पुरस्कार” प्राप्त गरेको थियो। त्यसैगरी, राष्ट्रिय सहकारी बैंक लिमिटेडबाट आ.व. २०७२/७३ मा “उत्कृष्ट क्षेत्रीय सहकारी” को सम्मान प्राप्त गर्न सफल भएका थियौं। साथै, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघबाट मिति २०८२ वैशाख २१ गते आ.व. २०८०/८१ का लागि मध्यपुर थिमी नगरपालिका क्षेत्रभित्र “उत्कृष्ट नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१” द्वारा सम्मानित हुनु हाम्रो लागि अत्यन्त गर्वको विषय हो। यी सम्पूर्ण उपलब्धिहरू हाम्रो सामूहिक प्रयास, एकता र विश्वासको प्रतिफल हुन्। यसका साथै, विभिन्न सामाजिक संघ–संस्था, विद्यालय तथा क्लबहरूबाट प्राप्त सम्मानहरूले संस्थाको सामाजिक तथा सांस्कृतिक योगदानलाई अझ सशक्त बनाएको छ।

सदस्यहरूको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै, संस्थाले आधुनिक प्रविधिमा निरन्तर लगानी गर्दै मोबाइल बैंकिङ तथा एसएमएस अलर्ट सेवा सञ्चालनमा ल्याइसकेको छ। अब छिट्टै इन्टरनेट बैंकिङ तथा एटीएम सेवा कार्यान्वयन गर्ने तयारीमा छौं, जसले सदस्यहरूलाई अझ छरितो, सहज र सुरक्षित सेवा उपलब्ध गराउने विश्वास लिएका छौं।

यस अवसरमा, संस्थाका सम्पूर्ण सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारीहरू, बाह्य लेखा परीक्षक, उपसमितिहरू, शुभचिन्तकहरू तथा सम्पूर्ण शेयर सदस्यहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै, सहकारी क्षेत्रका सहयोगी निकायहरू — नेफ्स्कून, जिल्ला सहकारी संघ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ, बागमती प्रदेश सहकारी संघ, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, राष्ट्रिय सहकारी महासंघ, सहकारी विभाग, ACCU, WOCCU तथा ICA प्रति पनि हार्दिक आभार प्रकट गर्दछु।

अन्त्यमा, तपाईं सम्पूर्णलाई हाम्रो सहकारीसँग आबद्ध भई फरक र उत्कृष्ट अनुभव लिन हार्दिक आमन्त्रण गर्दछु। आउनुहोस्, सहकार्य, विश्वास र सहकारीताको भावनालाई अझ सुदृढ बनाउँदै आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिका लागि एकताबद्ध भएर अघि बढौं।

समुदायको पहिलो रोजाइ, सुरक्षित र उत्कृष्ट बालकुमारी।

जय सहकारी! जय बालकुमारी!

सुजेन्द्र श्रेष्ठ
ब्यवस्थापक

☎️ 01-5093323, 01-5093455
📱 9851453323, 9849691825

Copyright © 2026 Balkumari SACCOS (BASIC) | Developed & Maintained by SoAni Tech Nepal Pvt. Ltd.