अध्यक्षको मन्तव्य
मध्यपुर थिमि क्षेत्रका सहकारीप्रेमी तथा दूरदर्शी २८ जना महानुभावहरूको अग्रसरतामा स्थापना भएको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड आज समुदायमा आधारित एक सशक्त, विश्वासिलो र गतिशील संस्थाको रूपमा स्थापित भएकोमा हामी सबैलाई गर्वको अनुभूति भएको छ। आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिका लागि “सहकार्य र सहकारीताको भावना”लाई मूल मन्त्रका रूपमा आत्मसात् गर्दै स्थापना भएको यस संस्थाले आरम्भदेखि नै सदस्यहरूको आर्थिक सशक्तीकरणलाई केन्द्रबिन्दुमा राख्दै आफ्नो यात्रा अघि बढाउँदै आएको छ।
समय, परिस्थिति र आर्थिक परिवेशअनुसार संस्थाले आफ्ना नीति तथा कार्यक्रमहरू परिमार्जन गर्दै ब्याजदर लगायतका सेवाहरूलाई व्यवहारिक, न्यायोचित र सदस्य–मैत्री बनाउँदै आएको छ। यसका साथै, संस्थाले केवल वित्तीय कारोबारमा मात्र सीमित नरही समुदायको समग्र विकासलाई आत्मसात् गर्दै स्वास्थ्य शिविर, सीपमूलक तालिम, सामाजिक सचेतना कार्यक्रम तथा आर्थिक एवं भौतिक सहयोगका विविध आयामहरूमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। सांस्कृतिक संरक्षण र प्रवर्द्धनका क्षेत्रमा समेत संस्थाले अग्रणी भूमिका खेल्दै आएको छ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले सिर्जना गरेको असहज र चुनौतीपूर्ण परिस्थितिमा, हाम्रो संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै समुदायप्रति समर्पित सेवाभाव प्रस्तुत गरेको थियो। कठिन समयमा भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा खाद्यान्न सहयोग वितरण, वातावरणीय सुरक्षाका लागि डिसइन्फेक्ट स्प्रे, मास्क तथा स्यानिटाइजर वितरण जस्ता कार्यहरू मार्फत संस्था समुदायसँगै उभिएको थियो। साथै, लकडाउन तथा निषेधाज्ञाको अवस्थामा समेत नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा मापदण्डहरू पूर्णरूपमा पालना गर्दै सीमित जनशक्तिबाट सेवा प्रवाहलाई निरन्तरता दिइएको थियो, जसले सदस्यहरूलाई अत्यावश्यक सेवा प्राप्त गर्न सहजता प्रदान गर्यो।
आजको प्रतिस्पर्धात्मक र प्रविधिमैत्री युगमा संस्थालाई अझ आधुनिक, पारदर्शी, उत्तरदायी तथा सदस्य–केन्द्रित बनाउँदै लैजानु हाम्रो प्रमुख दायित्व हो। यस दिशामा हामी प्रविधिको अधिकतम उपयोग, सुशासनको सुदृढीकरण र सेवाको गुणस्तर अभिवृद्धिमा निरन्तर लागिपरेका छौं।
अन्त्यमा, यस संस्थालाई आजको उचाइसम्म पुर्याउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, पूर्व पदाधिकारीहरू, उपसमितिहरू, कर्मचारी वर्ग, शेयर सदस्यहरू, सञ्चारकर्मी तथा शुभेच्छुक महानुभावहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। आगामी दिनहरूमा पनि तपाईंहरूको साथ, सहयोग र मार्गदर्शन निरन्तर रहने विश्वास लिएको छु।
आउनुहोस्, सहकार्य, विश्वास र उत्तरदायित्वको भावनालाई अझ सुदृढ बनाउँदै समृद्ध, आत्मनिर्भर र सशक्त समुदाय निर्माणमा एकजुट भएर अघि बढौं।
समुदायको पहिलो रोजाइ, सुरक्षित र उत्कृष्ट बालकुमारी।
तुईलाल श्रेष्ठ
अध्यक्ष
📱 ९८४१३६०३१०
Copyright © 2026 Balkumari SACCOS (BASIC) | Developed & Maintained by SoAni Tech Nepal Pvt. Ltd.